माघ, काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएका छन् ।
चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो । घटनामा उनले आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अपराध महाशाखामा सूचना पुगेको थियो ।
‘उनीविरुद्ध केही प्रश्न उठेपछि एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानविन समिति बनाएर अनुसन्धान भइरहेको छ’ कुँवर भन्छन्, ‘समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए कारबाही हुन्छ ।’ हाललाई रम्तेलको ठाउँमा महाशाखाको बानेश्वरस्थित कार्यालयमा कार्यरत निरीक्षक केशव बाह्रकोटीलाई ललितपुर पठाइएको छ ।