काठमाडौँ, २५ फागुन
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ ।

आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र  एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।

हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उहाँले बताउनुभयो । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष  राख्ने कांग्रेसको अभियान छ ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा महतले जानकारी दिनुभयो ।
कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुग्ने जनाएको छ । केन्द्रीय प्रतिनिधिलाई अभियान सुरु हुनुअघि तथा सुरु भएपश्चात् वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्ने जिम्मेवारी तोकिएको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ