काठमाडौँ, २७ फागुन
नेपाल र दक्षिण अफ्रिकाबीच पारस्परिक सहयोग अभिवृद्धिको समझदारी भएको छ । नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय परामर्श संयन्त्रको बिहीबार प्रिटोरियामा सम्पन्न पहिलो बैठकमा त्यस्तो समझदारी भएको हो ।

बैठकपछि परराष्ट्र सचिव भरतराज पौड्याल र गणतन्त्र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका कार्यवाहक महानिर्देशक नोन्सेबा लोसीले आआफ्नो सरकारका तर्फबाट सहयोग अभिवृद्धिसम्बन्धी आशयको घोषणापत्रमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय परामर्श बैठकमा दुई देशबीचको व्यापार, पर्यटन, प्रत्यक्ष वैदेशिक लगानी, जनताजनताबीचको सम्पर्क, सांस्कृतिक सहयोगका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक अनुभवको आदानप्रदानलगायत द्विपक्षीय सम्बन्धका विस्तृत विषयमा छलफल भएको थियो ।

कार्यवाहक महानिर्देशक लोसीले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र दक्षिण अफ्रिकाबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले रङ्गभेदविरुद्धको लडाइँमा दक्षिण अफ्रिकी जनताको पक्षमा दृढताका साथ उभिएकामा नेपालको प्रशंसा गर्नुभयो ।

द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सन् २०२४ मा काठमाडौँमा आयोजना गर्न दुवै पक्षबीच सहमति पनि भएको छ ।

यसैबीच, परराष्ट्र सचिव पौड्याललले दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग उपमन्त्री क्यान्डिथ माशेगो–दलामिनीसँग भेटवार्ता पनि गर्नुभयो । बैठकमा कोभिड–१९ नियन्त्रण, खोपमा समान पहुँच एवं वितरण र आर्थिक पुनरुत्थानलगायत विषयमा छलफल भएको थियो ।  परामर्श बैठक र द्विपक्षीय भेटवार्ता परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, प्रिटोरियास्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत ज्ञानबहादुर मगर, मन्त्रालय र दूतावासका अन्य अधिकारीको सहभागिता रहेको पनि उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ