काठमाडौँ, २९ फागुन
प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम समयमै सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न पर्नबताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरआँगनको सरकार भएको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवासुविधाको आधारमै जनताले सरकारप्रतिको समग्र धारणा निर्माण गर्ने हुँदा नगरपालिकाहरूले जनताको मन जित्ने गरी काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “विसं २०४६ को जनआन्दोलनपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५० सालमा सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापित यस सङ्घले विगत तीन दशकदेखि नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।”

उहाँले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर र नगर पूर्वाधार सेवाहरू जस्तै योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, खुला हरियाली क्षेत्र, सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक हुन्छ भन्नुभयो । “आज मुलुकका अधिकांश नगरपालिकाहरू अवस्थित सहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको छ भने अर्कातर्फ हाम्रा सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रका रूपमा परिणत भइरहेका छन् । अब राजधानी सहर काठमाडौँदेखि मुलुकका ठूला साना सबै सहरलाई दिगो विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

सहरमा जथाभावी निर्माण कार्य हुन नदिएर सुनियोजित र एकीकृत तवरले पूर्वाधार संरचनाहरूलाई विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले मुलुकभित्रका सबै नगरपालिकाहरूलाई आ–आफ्नो मौलिक पहिचान र विशिष्टतासहित आफ्नो नगरपालिकालाई नमूना नगरपालिकाका रूपमा स्थापित गर्ने गरी कार्य गर्न अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सबै नगरपालिकालाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी सहरलाई स्वच्छ, सुरक्षित आवासस्थलका साथै आर्थिक क्रियाकलापको हबका रूपमा विकास गर्न एकापसमा समन्वय मिलाई कार्य गर्न आग्रह गर्नुभयो ।

––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ