काठमाडौँ,

२५ चैत
खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले उपलब्ध गराएको सवारी साधनको समुचित उपयोग गरी खानेपानीका उपभोक्तालाई सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ । एसियाली विकास बैंकले आज उपलब्ध गराएको ११ सवारीसाधन विभिन्न खानेपानी आयोजनाको उपभोक्ता समितिका प्रतिनिधिलाई हस्तान्तरण गर्दै मन्त्री चौधरीले शुद्ध खानेपानी उपभोग गर्न पाउने नेपाली नागरिकको मौलिक हक प्रत्याभूत गर्न वितरित सवारीसाधनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसरी आज सवारी प्राप्त गर्नेहरुमा काभ्रे पाँचखालको सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समिति, भरतपुर नगरपालिका–१९ स्थित शारदानगर जागृति खानेपानी उपभोक्ता संस्था, सप्तरीस्थित कञ्चनपुर शहरी खानेपानी संस्था, दार्चुलास्थित खलङ्गा खानेपानी उपभोक्ता समिति रहेका छन् । कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, डडेल्धुरास्थित खलङ्गा खाने पानी सरसफाइ समिति, काश्कीस्थित निर्मलपोखरी बागमारा पुडित साना शहरी खानेपानी सरसफाइ समिति, सर्लाहीस्थित लालबन्दी खानेपानी उपभोक्ता समिति, उदयपुरस्थित कटारी बजार नयाँ खानेपानी उपभोक्ता समिति, कैलालीस्थित लम्की सानाशहरु खानेपानी संस्था र भक्तपुरस्थित दधिकोट बृहत खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिलाई सवारी वितरण गरिएको हो ।

विभिन्न खानेपानी आयोजना मर्मत सम्भार, अनुगमन, निरीक्षण र व्यवस्थित सञ्चालनका लागि ३० प्रतिशत लागत साझेदार भएका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ती ११ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरिएको हो ।

खाने पानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले ३०० किलोमिटरसम्मको लामो पाइपलाइनमार्फत खाने पानी वितरण गरिरहेका खानेपानी आयोजना सञ्चालनमा सहजता ल्याउन सरकारले सवारीसाधनसहित अन्य भौतिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ