काठमाडौं, उमेश भट्टराई

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् । राष्ट्रिय जनगणना जस्तै कृषि गणना समेत हरेक १०/१० वर्षमा हुने गर्छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनामा करीव १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ ।

नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने विभागको भनाइ छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ ।

कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपंक्षी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने छ । यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ ।

कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने छ । नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाई ध्यानमा राखी महिलाको अगुवाइमा भइरहेका खेतिपातीको विवरण कृषि गणनामा संकलन गरिने छ ।

नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् । ‘जनगणनामा हरेक घरमा पुग्ने गरि गणक पठाइन्छ,’ कार्कीले भने, ‘कृषि गणनामा ठूलो स्तरको नमूना लिएर त्यहाँबाट तथ्यांक संकलन गरिन्छ ।’ त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिन्छ ।

कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषणसहितको एउटा छुट्टै प्रतिवेदन समेत प्रकाशन गरिने विभागले जनाएको छ । प्रतिवेदनमा भोकमरी, खाद्य असुरक्षा, ग्रामिण गरिबीको अन्त्यसँग सम्बन्धित तथ्यांकको विश्लेषण गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ