
रेबा घिमिरे
झापा, ८ वैशाख
बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।




दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छे । उहाँले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनुभयो ।
डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताउनुभयो । उहाँले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।” हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।
चितुवासँगै हात्ती आतङ्क लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ । उहाँको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पु¥याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















