रेबा घिमिरे
काठमाडौँ, ८ वैशाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।”

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् ।

आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ