बागमती,
१२ वैशाख
बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ ।




विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।
जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ ।
रु २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । पटकपटकको म्याद थप हुँदासमेत काम नगरेपछि १० प्रतिशतको हर्जनासमेत असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















