रेबा घिमिरे
काठमाडौँ,
१३ वैशाख
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उहाँको भनाइ छ । नेत्री सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गर्नुभयो । “मैले राजनीतिमा पद लिइन, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताउनुभयो । “राजनीतिक परिवारको व्यक्ति सिर्जनाले काठमाडौँ महानगरपालिकालाई राम्रो व्यवस्थापन गर्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । नेत्री देउवाले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताउनुभयो । कांग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उहाँलाई जिताउनका लागि लाग्न काठामाडौँका जनतालाई उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ