काठमाडौँ, १६ वैशाख
नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औँ संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ ।
उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृहमन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।
यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन । उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकास लिन सकिने भएकाले तल्लो तहका प्रहरी कर्मचारी राहत मिल्नेछ ।
मन्त्रालयले मूल नियमावलीको नियम १३१, उपनियम (१) मा (१क) थप गरी उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए पनि विसं २०६० चैत २६ पछि नेपाल प्रहरीमा नियुक्त हुने प्रहरी कर्मचारीको हकमा सेवा अवधि र निवृत्तिभरण संशोधनको प्रस्ताव गरेको हो ।
प्रस्तावित नियमावलीमा निवृत्तिभरण प्राप्त गर्न प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको निवृत्तिभरणको अवधि २० वर्ष, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्ष र प्रहरी जवानदेखि वरिष्ठ हवल्दार तथा कार्यालय सहयोगीको हकमा १६ वर्षे सेवा अवधि तोकिएको छ ।
बीस वर्ष सेवा अवधि नपुग्दै अवकास पाएको खण्डमा भने निवृत्तिभरणबापतको रकम नियुक्ति भएको मितिले २० वर्ष पूरा गरेको दिनबाट मात्रै पाउनेछन् । हाल लागू भइरहेको नियमावलीको नियम १३१ को उपनियम (१) मा २० वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएमा निवृत्तिभरण पाउने व्यवस्था थियो । त्यसलाई सहजीकरण गर्दै तहगत विभाजन गरी सेवा अवधि घटाएर निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको हो ।
यस्तै मूल नियमावलीको नियम १३४ मा रहेको अशक्त भत्ता पनि २० प्रतिशतबाट ५० प्रतिशतमा पु¥याउने गरी प्रस्ताव गरिएको छ । मूल विनियमावलीको नियम ८७ को उपविनियम (६) मा प्रहरी महनिरीक्षकको अध्ययन बिदाबाहेकका बिदा गृहमन्त्रीबाट स्वीकृत हुनेछ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप्न प्रस्ताव गरिएको छ ।
यस्तै गृहमन्त्रालयले सँगसँगै सशस्त्र प्रहरी (पहिलो संशोधन) नियमावली २०७२ पनि संशोधन प्रस्ताव अघि बढाएको छ । प्रस्तावित नियमावलीमा पनि सशस्त्र प्रहरीको निरीक्षकदेखि महानिरीक्षकसम्मको हकमा २० वर्ष सेवा अवधि पूरा गरेमा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।
यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको हकमा १८ वर्ष र सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दार तथा परिचरको हकमा पनि निवृत्तिभरणको अवधि १६ वर्ष तोक्ने गरी प्रस्ताव गरिएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal