काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने सास्कृतिक नगरी टोखा नगरपालिकाको नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचन २०७९मा नगर प्रमुख पदमा उम्मेदवारी दिएको ले तीन विषयमा स्नातकोत्तर गरेकी छन् भने अन्तरराष्ट्रिय सम्बधमा पिएचडी गर्दै छन । रजनी थापा नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष २०२१ र लाइन्स क्लब काठमाडौ देउराली धापासीको अध्यक्ष रहेकी छन् ।
नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिका प्रमुखकी उम्मेदवार बनेकी थापाले अबको पाँच बर्षभित्र टोखालाई नेपालकै पहिलो हरित शहर बनाउने उद्देश्यको साथ नेपालकै उत्कृष्ट घोषणापत्र जारी गरेको र बोल्ने भन्दा पनि काम गरेर नगरको मुहार परिवर्तन गर्ने लक्ष्यका साथ काम गरेर देखाउने उनको योजना रहेको बताएकी छन् ।

सहायक प्राध्यापक उमेश भट्टराई, अनुसन्धानकर्ता सौरभराज पन्त,स्थानिय इन्जिनियर आशिष शर्मा, पत्रकार सुभाश कुँवर, टोखाबाट गणेश कार्की, रत्न महर्जन, नेपाली कांग्रेस टोखा नगरका सभापति एवं पदाधिकारी, प्रत्येक वडाका प्रतिनिधि, इन्जिनियर वातावरणविद् लगायतकाे टाेलीले याे घाेषणापत्र निर्माण गरेकाे हाे । उनै थापासँग विश्वसमाचार डटकमका लागि सरिता गैह्रेले गरेको कुराकानी प्रस्तुत गरेका छौ ।
तपाईंको राजनीतिमा लाग्ने प्रेरणाको श्रोत को हो ?
मलाई मेरो परिवारको साथ सहयोग र बुबाको प्रेरणाले म राजनितीमा लगेकी हुँ, म मेडिकल विद्यार्थी भएर पश्चिमको एउटा जिल्ला अस्पतालमा नियुक्त भएर गएको थिए ड्युटीकै पहिलो दिन मै १० बर्षकि नाबालिकालाई आफ्नै बाबुले बलात्कार गरेको घटनाको केस हेर्नु पर्यो । त्यसले मेरो मनमा ठूलो धक्का लाग्यो अनि घरमा घटनाबारे जानकारी गराएँ । म त्यो जागिर छोडेर महिला सशक्तीकरणको कार्य गर्न थाले । सामाजिक कार्य गर्दा गर्दै राजनितिमा आएकी हुँ ।
यत्तीको शिक्षित युवा देशमै पनि विदेशमै पनि राम्रो अवसर र आम्दानी गर्न सक्नु हुन्छ । प्रायःजसो राजनीतिमा तपाईंको भन्दा कम योग्यता भएको मान्छेहरू छन् तपाईं अन्य क्षेत्र छोडेर राजनीतिमा किन आउनु भो ?
उक्त घटनापछि एक जनाले जागिर खाएर समाजप्रति आफ्नो उत्तरदायित्व बिर्सेर बसीरहन सकिन, रजनी सचेतना नेपाल फाउन्डेसनको स्थापना गरेर सोही संस्थामार्फत कार्य गर्दै आईरहेकी छु ।
पढाइ भनेको कोरा शिक्षा मात्र होइन, एउटा शिक्षित व्यक्तिले आफू वरिपरिका सामाजिक फोहर सफा नगरेर यो अवस्था आएको हो , त्यसैले एक शिक्षित व्यक्तिले गरे समाजको फोहर फाल्न सकिन्छ भनेरै विदेश नगएर वा जागिर नगरेर राजनितिक क्षेत्रमा आएकी हुँ ।
अधिकांश महिलाहरूले आरक्षणको लागि मात्रै उम्मेदवारी दिएका छन्, मेयरको टिकट पाउनु भएको छ । तपाईंले चुनाव जित्नु भो भने महिलाको लागि के गर्नु हुन्छ ?
राज्यको मुल प्रवाहमा आउन नसकेका दुरदराजका महिलालाई हो । आरक्षणको आवश्यकता, शिक्षित महिलाले आरक्षणको कोटा लिएर अगाडि बढ्नु पर्ने अवस्था छैन । म आफु पनि शिक्षित महिला नै हुँ । आफुलाई जस्तो सुकै अवस्था र परिस्थितिमा प्रस्तिस्पर्धा गर्न सक्ने क्षमता भएको युवाको रूपमा प्रस्तुत गरेकी छु ।
शिक्षित र सबल महिलालाई आरक्षणको आवश्यकता पर्छ जस्तो लाग्दैन। मैले टोखा नगरमा मेयर पदमा बिजयी हुँदै गर्दा समग्र टोखा नगरका आम महिलाको सर्वाङ्गिण बिकास र महिला सशक्तिकरणका लागि काम गर्नेछु अबको पाँचबर्ष भित्र टोखा नगरभित्र रातको १२/१ बजे एक महिला एक्लै काम बाट फर्कदा वा जाँदा पनि सार्वजनिक स्थान बाटोमा सुरक्षित हिँडडुल गर्न सक्ने समाजको निर्माण गर्नेछु ।
स्थानीयबासीहरूले तपाईंलाई नै किन जिताउने ?
मलाई स्थानीयले किन भोट दिने किन जिताउने ! पहिलो त म यस नगरको छोरी चेली हुँ । यही जन्मी हुर्किएकी सबल नारी हुँ । पढेलेखेकी छु, जनजनमा परिचित छु, हिजोका दिनदेखि नै निरन्तर सामाजिक कर्यमा लाग्दै आइरहेकी छु । जनताको समस्यालाई आँखाअगाडि देखेर भोगेकी छु । म ती समस्यालाई समाधान गरी सबल र समृद्ध टोखा निर्माण गर्न सक्छु । नगरको हर समस्यालाई आफ्नै समस्याको रूपमा महसुस गरेर समाधान गर्न सक्छु । त्यसैले टोखाबासीले मलाई जिताउनु पर्छ भन्ने लागेको छ।
टोखाको समृद्धि र दिगो विकास गर्दै नेपालको पहिले हरित सहर निर्माण गर्नका लागि पनि टोखा नगर र नगरवासीलाई मेरो आवश्यकता महसुस गर्नु भएको छ । यहाँका आमाबुबा दाजुभाई दिदिबहिनीहरूले । मैले जित्दा टोखाको एउटा सबल नारीले जितेको हो अर्थात आम टोखाबासी दिदीबहिनी आमाहरूको जित हुन्छ, र उहाँहरूको समृद्धि र सुरक्षाका लागि नगरले मेरो माग गरेको छ । आम टोखाबासी महिला बालबालिकाको सर्वाङ्गिण बिकासका लागि मेरो जितको आवश्यकता छ ।
समाज सेवा गर्ने माध्यमहरू थुप्रै छन् राजनीति नै किन रोज्नु भो ?
समाजसेवाका विभिन्न पाटाहरू छन् । राजनीति पनि समाज सेवाकै एउटा पाटो हो । राजनीतिमार्फत जनताको घर घरमा प्रत्यक्ष पुग्न सकिन्छ । उनीहरूको सुख दुःखमा सहभागी हुन सकिन्छ समस्या समाधान गर्न अघिल्लो मोर्चामा बसेर काम गर्न सकिन्छ । मलाई अरुको सेवा गर्दा मनमा आनन्द आउँछ । मेरो सेवाले अरु खुसी हुँदा मलाई पनि मनदेखी नै खुशी महसुस हुन्छ त्यसैले राजनीतिमा लागेकी हुँ ।
राजनीतिलाई असजिलो पेसा मानिन्छ । कुरा एउटा गर्ने व्यवहारमा अर्कै देखाउने प्रवृत्ति हावी छ । यस कुरामा तपाईं अरु भन्दा फरक कसरी हुनुहुन्छ ?
होइन, गर्न नसक्ने कुरा गर्यो भने राजनीति मात्र होइन हरेक क्षेत्र गाह्रो छ । समाज सेवालाई सजिलो र गाह्रोको रूपमा लिन हुन्न । गलत गर्नेले हरेक क्षेत्रमा अपजस पाएको छ राजनिती मात्र होइन । म गर्न सक्ने मात्र बोल्छु र बोल्न सक्ने मात्र गर्छु ।
तपाईंको चुनावी घोषणा पत्रले के के कुरालाई विशेष जोड दिएको छ ?
मेरो चुनावी घोषणापत्रले टोखालाई समृद्ध बनाउन अल्पकालिन र दीर्घकालीन योजना तयार पारेको छ । विशेष गरेर शिक्षा, स्वास्थ , पुर्वाधार बिकास, वातावरण , पर्यटन बिकास, सुशासन, भ्रष्टाचार शून्य सहनशिलता, महिला सुरक्षा, बेरोजगारी समस्याको समाधान, सिङ्गो टोखालाई खुला जिवित सङ्ग्रालयको रूपमा विकसित गर्न नेपालको पहिले हरित नगरको रुपमा विकसित गर्ने योजनाहरू प्रस्तुत गरेकी छु ।
नेपाल भ्रष्टाचारको चरम दलदलमा फसेको देखिन्छ । यसैकारण पनि विकासको खुड्किला चढ्न सकेको छैन् । तपाईँले जित्नुभयो भने यो समस्याको समाधान कसरी गर्नुहुन्छ ? तपाईँ नै भोलि भ्रष्टाचारमा फस्नुहुन्न भनेर जनताले कसरी विश्वास गर्ने ?
मैले जितेपछि टोखामा भ्रष्टाचार शून्य सहनशिलता अपनाइनेछ । सर्वजनिक संस्थाहरूलाई पारदर्शी बनाइनेछ । हरेक वडाले गर्ने खर्चलाई सूचना पाटीमार्फत नगरबासीलाई प्रसारित गरिनेछ । भ्रष्टाचारमुक्त टोखा देख्न पाउनुहुनेछ अबको दुई बर्षभित्र ।
चुनावका जित्न लागि त आर्थिक रूपमा पनि खर्च टन्नै लाग्छ भन्छन्, कसरी जोहो गर्नु भएको छ ?
मेरो आफ्नै पारिवारिक व्यवसाय छ । अर्को कुरा मेरो परिवार यसै पनि सम्पन्न छ । मलाई मेरो आमाबुबा, भाइ आफन्त र नगरबासीको सहयोग र सद्भाव रहेको छ । तर, आर्थिक खर्च गर्दैमा चुनाव जितिन्छ भन्ने पनि छैन । मैले आचारसंहिताले गर्न नमिल्ने कार्यमा खर्च गरेर चुनावी प्रचार गरेको छैन ।
अबको ५ वर्षमा टोखा नगरपालिकामा के कस्ता विकास र सुबिधा हुन्छ ?
अबको पाँच बर्षभित्र टोखा नगर देशकै पहिलो हरित सहरको रूपमा बिकास भइरहेको देख्न सक्नु हुनेछ। टोखामा उत्पादित वस्तुले आफ्नै ब्राण्ड पाउनेछन्, हरेक सार्वजनिक विद्यालय निजी विद्यालयभन्दा उत्कृष्ट देखिनेछन्।
महिला दुर्व्यवहार शून्य सहनशिलतासहितको नगर, युवाहरू स्वरोजगार हुनेछन्, सुशासन र जनताको पहुँचमा स्थानीय सरकारले काम गरेको देख्न पाउनुहुनेछ । जीवित सङ्ग्रालयको रूपमा टोखालाई अबको पाँच बर्षमा देख्न सक्नुहुनेछ ।
टोखा नगरपालिकालाई व्यवस्थित र समृद्ध कसरी बनाउनु हुन्छ ?
टोखाको सर्वाङिण बिकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर योजना कार्यान्वयन गरी टोखालाई समृद्ध गराउन लाग्नेछु ।
अन्त्यमा, आफ्ना मतदातालाई केही भन्नुछ ?
नेपाली काङ्ग्रेसले मलाई टोखाको नेतृत्व गर्ने मौका प्रदान गरेको छ । अब यसलाई मतद्वारा अनुमोदन गर्ने जिम्मेवारी टोखा नगरबासी आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुको हातमा आएको छ ।
मलाई बिश्वास छ, टोखाबासी आमाबुबा दाजुभाइ दिदीबहिनीको मन र मतले मलाई नगर प्रमुखमा बिजयी गराउनु हुनेछ । अब सोच्ने बेला आएको छ । पुरानै संकीर्ण सोच कि विकसित समाज, पुरातन टोखाकी जीवित संग्रालयको रूपमा आधुनिक टोखा ? मलाई नगर प्रमुखमा निर्वाचित गरी समृद्ध टोखाको जिम्मेवारी दिनुहोस् । म यहाँहरूलाई समृद्ध र नेपालकै नमुना सहर बनाएर नगरबासीलाई हस्तान्तरण गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ