
२६ वैशाख





यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताउनुभयो ।
‘‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’’, विकासले भन्नुभयो, ‘‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुप¥यो भनी बोलाए, अनि हामी आर्यौँ ।’’एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।
स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पति पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फकिएको छ । उहाँ मतदान गर्ने वित्तिकै भारत फर्कने बताउनुहुन्छ । ‘‘हामीले निर्वाचन हुँदैछ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘एक पटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।’’
मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा पुगेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’’, उहाँले भन्नुभयो, ‘‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौँ ।’’वैशाख महिनायता भारत फर्कने ४०० भन्दा बढीले सीमामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराएका छन् । एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















