काठमाडौँ
 २७ वैशाख
विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औषतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् ।

कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन् । अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।

यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन । कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ