विराटनगर,

२९ वैशाख
शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यसले गर्दा प्रदेशमा अहिलेसम्म अप्रिय घटना नभएको पाइएको छ । उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा मित्रवत् व्यवहार प्रदर्शन गरेका थिए । लगभग दुई दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।

सबै दल र तिनका उम्मेदवारले आ–आफ्नो सिद्धान्त, विचार र सङ्कल्पका साथ जनतामाझ गएकाले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित एवं पारदर्शी हुने कुरामा प्रहरी, प्रशासन, रानजीतिक दल र निर्वाचन कार्यालय विश्वस्त देखिएका छन् ।

निर्वाचनमा यस प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारी गरी ५४ हजार ५५० जनशक्ति परिचालित भएका छन् ।

यसैगरी म्यादी प्रहरी १७ हजार ३७२, नेपाल प्रहरी १० हजार ५९१ परिचालन भएको प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।

उहाँले प्रदेशको भौगोलिक, जनसङ्ख्या, मतदाता र मतदान केन्द्रहरुको धरातलमा उभिएर निर्वाचनमा अप्रिय घटना हुन नदिन प्रदेशमा ८४९ स्थान सम्वेदनशील र ३२१ स्थान अतिसम्वेदनशील तथा ७०७ स्थान सामान्य स्थान पहिचान गरी सुरक्षाको प्रबन्ध मिलाएको बताउनुभयो ।

प्रदेश अन्तर्गत गाउँपालिका ८८, नगरपालिका ४६, उपमहानगरपालिका दुई र महानगरपालिका एक गरी कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, १६ लाख ४५ हजार ५६१ महिला र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाता छन् भने यसका लागि सुरक्षामा उदयपुर जिल्लाबाहेक अन्य जिल्लाका गरी कूल चार हजार ५७७ सशस्त्र प्रहरी र २२ हजार कर्मचारी परिचालन भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्लाका अधिकारीले जानकारी दिएका छन् ।

चौध जिल्ला रहेको प्रदेशमा मतदानस्थल एक हजार ८७७ र मतदान केन्द्र चार हजार ५१ छन् । मतदान केन्द्रमा तीन घेरामा सुरक्षा निकाय बस्ने, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाल सेनाका टोली रहने भएकाले निर्वाचनमा कुनै पनि समस्या नआउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ