विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारी पक्राउ परेका छन्। उनी कलेजका को-अर्डिनेटर हुन्। साथै उनी सँगै यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पनि पक्राउ परेका छन्। हरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।
उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो। शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए। शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ताव समेत राख्ने गरेको खुलेको हो। यी कुरा खुलेपछि विद्यार्थीहरूले कलेज प्रशासनलाई पहिल्यै जानकारी गराएको थियो। तर प्रशासनले भित्रैभित्र मिलाउन खोजेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।





बिहान ६ बजेदेखि सुरू भएको आन्दोलन दिनभरि नै चल्यो। शिक्षक तथा व्यवस्थापन संकायका संयोजक जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्। आन्दोलन कलेजबाट सुरू भएको थियो। नाराबाजी तथा तोडफोड गरेपछि विद्यार्थीहरूलाई कलेज परिसरबाट हटाइएको थियो। त्यस्तै अधिकारीलाई पनि त्यहीँबाट नियन्त्रणमा लिएर प्रहरी वृत्तमा ल्याइयो। अर्का शिक्षक राजनकुमार पौडेल पनि प्रहरी नियन्त्रणमा छन्। उनीमाथि पनि यौन दुर्व्यवहारको आरोप छ।
विद्यार्थीहरूले वृत्तमा पुगेर प्रदर्शन गरे।
अधिकारीलाई कलेज प्रशासनले नै संरक्षण गरेको भन्दै उनीहरू आक्रोशित थिए। नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहे। उनीहरूले जाहेरी दिएपछि कक्षा १२ का थप दुई जना छात्राले पनि आफूहरूमाथि ती शिक्षकले दुर्व्यवहार गरेको भनेका छन्। यद्यपी उनीहरूले जाहेरी दिइसकेका छैनन्।
अधिकारीमाथि विद्यार्थीहरूलाई अनैतिक तरिकाले छुने, मेसेजहरू पठाउने लगायत गर्ने गरेको आरोप छ। पीडित छात्राको घर नजिकै भएको कारण उनलाई आफूसँगै बस्न समेत भनेको एक विद्यार्थीले बताइन्।
‘व्यवस्थापन संकायका कोओर्डिनेटर सर जनार्दन अधिकारीले कलेजमा ११ कक्षामा पढ्ने विद्यार्थीलाई बारम्बार यौन दुर्व्यवहार गर्नुभएको रहेछ। एक दुई महिनादेखि नै यस्तो भइरहेको रहेछ,’ एक विद्यार्थीले भने, ‘घटनाबारे प्रशासनलाई भनेको अलि अगाडि नै हो। हिजो विद्यार्थीका अभिभावक समेत कलेजमा पुग्नुभएको थियो। तर प्रशासनले केही कारबाही नगरेपछि हामीले आन्दोलन नै गर्यौं। कलेजले हलुका रूपमा लियो त्यसैले।’
कुनै कारबाही गर्नु वा प्रहरीलाई खबर गर्नुको सट्टामा आन्तरिक रूपमै मिलाउने काम भइरहेको १२ कक्षामा अध्ययनरत अर्का विद्यार्थीले बताए।
‘कलेजले यसबारे जानकारी पाइसकेपछि तुरून्तै कारबाहीको प्रक्रिया अगाडि बढाउन पर्थ्यो नि! भित्रैभित्र मिलाउनुपर्ने चाहिँ किन हो?,’ उनले प्रश्न गरे, ‘कलेजलाई एक महिना अगाडि पनि जानकारी गराएको रहेछ। तर फेरि दुई हप्ता अगाडि पनि जानकारी गराएका थिए। तर भित्रै-भित्र मिलाउने प्रयास गरे।’ भित्रैभित्र मिलाउने प्रयास गरेका शिक्षकहरूले अहिले प्रहरी प्रशासनलाई अरू नै बयान दिइरहेको उनले बताए।
यता कलेजका प्रमुख केशव दंगलले भने गल्ती हुनेलाई कारबाही हुनुपर्ने बताए। विद्यार्थीहरूको मागमा समर्थन नै भएको उनले बताए। ‘गल्ती हुनेलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो कलेजको माग नै हो। हामीले समर्थन गरेका छौं। अनुसन्धान अघि बढिरहेको छ।’
प्रहरी सोधपुछमा रहेका उनले थप बोल्न चाहेनन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















