काठमाडौँ, २५ जेठ
पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिनुभयो । “पूँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौँ,” उहाँले भन्नुभयो ।
मन्त्रालयमा आज भएको छलफलपछि धितोपत्र बोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक–एक प्रतिनिधि तथा धितोबोर्ड बोर्डको एक प्रतिनिधि सदस्यसचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पूँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराउनुभयो । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका बिषयहरु उल्लेख छन् ।
धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुल्ला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रकोप्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने, रु एक अर्ब वा सो भन्दा बढीको पूँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्ने गरी सूचीकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।
पूँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गरी शेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्नेलगायत विषयमा उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रमेश हमालले बोर्डका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal