काठमाडौँ,
२८ जेठ
बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ । कपन साहित्य समाजको आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का माध्यमबाट नगरको सामाजिक उन्नयन तथा सांस्कृतिक रुपान्तरण गर्नाका साथै प्राकृतिक तथा भौतिक सम्पदाको संरक्षण र विकास गरिने बताउनुभयो ।
सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गर्नुभयो । उपप्रमुख अनिता लामाले नगरका इतिहास, कला, संस्कृति, पर्यावरण विकास आदि समेटिने प्रज्ञाप्रतिष्ठान बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको साहित्यकार होमशङ्कर बास्तोलाद्वारा ५० को दशकको उत्तराद्र्धदेखि सत्तरीको दशकसम्म लिखित कवितासङ्ग्रह ‘भोका सपनाहरू’ विमोचन गरिएको थियो ।
सो अवसरमा नगर प्रमुख, उपप्रमुखलगायत कपन क्षेत्रमा पर्ने वडा नं १०, ११ र १२ का वडाध्यक्ष नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराईलगायत सदस्यलाई सम्मान गरिएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal