बंगलादेशले पद्मा नदीमाथि देशकै लामो पुल बनाएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्।
यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।
शनिबार राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् । उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन्। कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।
पद्मा ब्रिज बंगलादेशको गौरव भएको बताउँदै प्रधानमन्त्री हसिनाले भनिन्, ‘मलाई कसैप्रति कुनै गुनासो छैन, तर म मान्दछु कि जसले पद्मा ब्रिज निर्मण योजनाको विरोध गरेका थिए र यसलाई पाइप ड्रिम भनेका थिए, उनीहरुमा आत्मविश्वासको कमी थियो । मलाई विश्वास छ कि यो पुलले उनीहरुको आत्मविश्वासलाई बढाउने छ ।’ उनले यो पुललाई बंगलादेशको क्षमता, शक्ति र गरिमाको प्रतीक भएको बताइन् । सो अवसरमा उनले १०० रुपैयाँको नोट पनि जारी गरेकी थिइन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal