काठमाडौँ, २६ असार
राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ । पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्ने छन् । करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गुमेको हिन्दू राष्ट्रको पहिचान छिट्टै पुनःस्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गर्न सनातन ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताउँदै धर्म परिवर्तन रोक्न सबै जाकरुक हुनुपर्नेमा जोड दिनुभयो ।




नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताले विश्व परिवेशमा छुट्टै पहिचान कायम गरेकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीको मुख्य तपोस्थल भएको ऐतिहासिक तथ्य विभिन्न कारणले अहिले ओझेलमा परेकाले यसको प्रवद्र्धनका लागि सबै संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, बौद्ध विद्वान् मोहन लामा, किराँत धर्मगुरु मुन्धुम विद् डा चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासङ्घका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले प्राचीन सभ्यता, संस्कृति, इतिहासको संरक्षण गरेर मात्र देश विकास गर्नुपर्ने बताउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















