काठमाडौँ,
३१ जेठ
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीको उपचारमा देखाएको तत्परता र लगनशीलता प्रशंसायोग्य भएको बताउनुभएको छ । अस्पतालको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “बिरामीको चाप र दक्ष जनशक्तिको कमीबीच शिक्षण अस्पतालले देखाएको सक्रियता सबैका लागि उदाहरणीय छ ।”




दक्षिण एशियामै राम्रो उपचार गृह र चिकित्सा विधाको उत्कृष्ट तालिम तथा अनुसन्धान केन्द्रका रूपमा टिचिङ अस्पतालले विशिष्ट पहिचान बनाएको बताउँदै प्राडा बाँस्कोटाले आगामी दिनमा अस्पतालले समयसापेक्ष गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयोे । “अस्पतालको उन्नती र प्रगतीसँग डाक्टर, नर्स र कर्मचारीको भविष्य जोडिएको छ, त्यसैले अस्पताललाई अगाडि बढाउन मेहनत, लगनशील र व्यवसायी भएर लागौँ”, उहाँले भन्नुभयो । प्राडा शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले न्यून स्रोत र साधनका बीच कोरोना महामारीको समयसमेतमा टिचिङ अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले अस्पतालले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको उल्लेख गर्नुभयो ।
विसं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा ३०० शैयामार्फत सेवा प्रदान गरे पनि हाल उक्त सेवालाई विस्तार गरी एक हजार शैयामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
उक्त अस्पतालले पछिल्लो समय पेडियाट्रिक सर्जरी, पेडियाट्रिक आइसियु, सुरेश वाग्ले क्यान्सर सेन्टरलगायत सेवा विस्तार गरेको छ । त्रिभुवन शिक्षण अस्पतालले चालू आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।
अस्पतालको ४०औँ वार्षिकोत्सवका अवसरमा हिजो बिहिबार अस्पतालले निरन्तर २५ वर्षभन्दा बढी समय सेवा गर्ने ७५ जना कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरेको थियो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० भन्दाबढी स्वास्थ्य विधामा पढाइ हुँदै आएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















