काठमाडौँ,
१ साउन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भारतीय पक्षसँग सौहाद्र्रपूर्ण वातावरणमा कुराकानी भएको बताउनुभयो ।




आफ्नो भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताउनुभयो । “हिजोदेखि बाँकी रहेका विषय र वर्तमानका सम्भावनाका बारेमा राम्रो कुराकानी भयो”, उहाँले भन्नुभयो, “विदेशमन्त्री र विदेश सचिवसँगको छलफल पनि फलदायी रह्यो ।”
भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको बताउनुभयो ।
“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उहाँले भन्नुभयो, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”
आफूले नेपालको विकासका लागि भारतीय पक्षसमक्ष राखेको विषय छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । “म धेरै नै आशावादी र विश्वस्त भएर आएको छु, हामीले समस्याका रूपमा चित्रित गर्दै आएको विषय सकारात्मकरूपमा समाधान हुनेछन् ।”
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














