काठमाडौँ, 

२ साउन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरुसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारीरूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।”

मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ