झापा, ३ साउन
विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ ।

अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आउनुभएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताउनुभयो । विगतमा दैनिक सात घण्टा काम गरेर रु तीन हजार आम्दानी गर्दै आउनुभएको उहाँले हाल सात÷आठ सयमा चित्त बुझाउनुपरेको बताउनुभयो ।

श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन् । एक हप्तादेखि अत्यधिक गर्मी बढ्नु र विद्युत् आपूर्ति ठप्प हुँदा उपभोक्ता मारमा परेका छन् । आज बिहान नेपाल विद्युत् प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नेकपा (एमाले) ले वितरण केन्द्र घेराउसहित मागपत्र बुझाएको छ ।

एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताको नेतृत्व गर्दै प्राधिकरणमा मागपत्र बुझाउनुभएको हो । उहाँले मागपत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो ।

प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको जानकारी दिनुभयो ।

एमालेका नगर अध्यक्ष राजु कार्कीले प्रतिबद्धताअनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसके प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ