झापा, ८ साउन
कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।
स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ ।




उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।
तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो”, उहाँले भन्नुभयो, “यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।” उहाँले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।
मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताउनुभयो । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















