मध्यविन्दु

१३ भदौ : हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ ।

जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताउनुभयो । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पु¥याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताउनुभयो ।

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताउनुभयो । “जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ”, उहाँले भन्नुभयो, “अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ ।”

“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्संदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो ।

“रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ