गलकोट, १० कात्तिक

दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ ।

दसैँं सुरु हुनुभन्दा अघि र दसैँंको टीकाको भोलिपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप बढी भएपछि होटल तथा घरवास भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिनुभयो ।

“दसैँंको टीकाको पर्सिपल्ट ६० वटा भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन ढोरपाटन पुगेका थिए, पर्यटकको सङ्ख्या ढोरपाटन सिकार आरक्षले राख्छ, तर अहिले ढोरपाटनमा खोलिएको २२ वटा भन्दा बढी होटल तथा घरबासमा पर्यटकले भरिएको छ, कतिपय पर्यटक ढोरपाटन नपुगेर बोबाङमै बास बसेका छन्” कायतले भन्नुभयो “ढोरपाटनमा यो चाडवाडको समयमा अहिलेसम्मकै धेरै पर्यटक आएको अनुमान छ, यस्को मुख्य कारण प्रचारप्रसार नै हो ।”

“कात्तिक लागेपछि दसैँंको दिनमाबाहेक मेरो होटलमा पाहुँनाको कमी छैन, अन्य होटल तथा सामुदायिक घरबासमासमेत लगातर तीन दिनदेखि भरिभराउ छ, यहाँका होटल व्यवसायी उत्साहित बनेका छन्, दसैँं र तिहारको याममा यति धेरै पर्यटक पहिलो पटक ढोरपाटन आएको हाम्रो अनुमान छ” पौडेलले भन्नुभयो “ढोरपाटनको प्रचारप्रसार र पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण ढोरपाटनमा पर्यटक बढेको पाइयो, ढोरपाटनमा जनैपूर्णिमाको दिन सबैभन्दा बढी पर्यटक आउँछन् तर घुम्नका लागि दसैँंपछि निकै आन्तरिक पर्यटक आएको पाइयो ।”

पौडेलका अनुसार ढोरपाटनमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी, पर्वत, कास्की (पोखरा), गुल्मी, चितवन र नारायणगढ लगायतको स्थानबाट बढी मात्रामा पर्यटक आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटक दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककैभरमा छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ