कर्णाली, १३ कात्तिक :

छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ । घटना कात्तिक ८ गतेको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी चार दिनदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोलीले तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धानलाई तीव्र बनाएको छ । जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु गएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल घटनास्थलमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरिएको छ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो पुग्ने आशामा छौँ ।”

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि हालसम्म खास तथ्य भने प्रहरीले भेटाउन नसकेको बताइएको छ । प्रवक्ता भट्टराईका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा यसलाई प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नुभएको हो । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा समातेर सोधपुछ गरिएको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेको छैन ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ