काठमाडौँ, ७ पुस :

प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो । माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो कार्यकालमा गरिब किसानको रु एक लाखसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो । विकासका विशाल आयोजना सञ्चालन भए । प्रत्येक गाविसमा सहकारी निर्माण गरियो ।”

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीनमहिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताउनुभयो । जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुनेगरी काम गर्न सुझाव दिनुभयो ।
केन्द्रका अर्का नेता विशाल खड्काले बुढानीलकण्ठ नगरको नामकरण गरिएको बुढानीलकण्ठ मन्दिरको ‘ब्राण्डिङ’ गरेर पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले नगरको सुकुम्बासी समस्या समाधानमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ