गलकोट, ११ पुस

: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।”

राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिको उर्भरभूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो ।” उहाँले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरुलाई स्मरण गर्नुभएको थियो ।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाउनुभयो ।

महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ भन्नुभयो । उहाँले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ