मङ्गलबारे , १३ पुस

: पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ ।

सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक अलपत्र बन्ने अवस्था आएपछि इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् ।

निर्माण कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताउनुभयो । गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उहाँको भनाइ थियो । अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उहाँको दाबी थियो ।

माथिल्लो दुईखण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिनुभयो ।

जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताउनुभयो । स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उहाँको भनाइ थियो । सडक निर्माण गर्न ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षले चासो बढाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ