काठमाडौँ, १४ पुस :

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराउनुभएको छ । अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे आज पार्टीलाई जानकारी गराएको उहाँको निजी सचिवालयले जनाएको छ ।

गत मङ्सिर मसान्तसम्ममा सरकारको खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव एक प्रतिशतले बढेर रु चार खर्ब ५३ अर्ब पुगेको छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेकामा मङ्सिर मसान्तसम्ममा रु २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । यही अवधिको पुँजीगत खर्च ११ दशमलव नौ प्रतिशत छ ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बन्दै गएका, गत आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा रहेकामा चालु आर्वको सोही अवधिमा रु एक खर्ब ४७ अर्ब पुगेको, विप्रेषण २६ दशमलव चार प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब पुगेको, विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्ममा रु एक खर्ब ५७ अर्ब ४२ करोड थप भई रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । विदेशी विनिमयको यो सञ्चितिले १३ दशमलव छ महिनाको वस्तु पैठारी तथा ११ दशमलव तीन महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त छ । यसैगरी, वैदेशिक लगानी प्राप्तिमा सुधार भएको, चालु आवको कात्तिकसम्ममा रु तीन अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ । यो वर्ष पर्यटक आगमनमा पनि उत्साहजनक वृद्धि भएको, सन् २०२३ को हालसम्म नौ लाख ५४ हजार पर्यटक नेपाल आएका र चालु आवको पहिलो चार महिनासम्ममा पर्यटन क्षेत्रबाट भ्रमण आय ४७ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २५ अर्ब ७४ करोड पुगेको छ ।

अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गर्न प्रक्रिया सरलीकरण गरिएको, रु एक सयमा कम्पनी खोल्न सकिने व्यवस्था भएको, निजी क्षेत्रको मनोबल वृद्धि गर्न सरकारले निरन्तर संवाद गरेको, पुँजीगत खर्चको प्रभावकारिता बढाउन पहल गरिएको, मौद्रिक नीति लचिलो बनाइएको जानकार दिनुभयो । उहाँले लगानीको लागत कम गर्न वित्त र मौद्रिक नीतिमार्फत पहल गरिएको, तरलता प्रवाहमा सहजीकरण गर्न स्थानीय तहको निक्षेप गणना गर्ने सुविधा दिइएको, जग्गाको कित्ताकाट फुकुवा गरिएको, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएकोलगायत नयाँ व्यवस्था सरकारले गरेको जानकारी दिनुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ