चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । भरतपुर महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।

महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ। भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।

३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए । यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताइन् ।

‘रंगशाला निर्माणको काम विभिन्न कारणले रोकिंदा म निकै दुःखी थिए । यसलाई जसरी पनि बनाउनुपर्छ भनेर लागे । महानगरपालिकाले मात्रै गरेर केही हुने अवस्था थिएन, सबै पक्षलाई मिलाउनुपर्ने झन्झट नै थियो,’ उनले भनिन्, ‘धेरै ठूला बाधाहरु फुकाएर रंगशाला बन्ने कुरा सुनिश्चित भएको छ, सारा क्रिकेटप्रेमीहरु, भरतपुरवासीहरु खुसी हुनुपर्ने दिन हो, मेरो संकल्प थियो, त्यो पूरा हुँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ