उमेश भट्टराई, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा भएको आन्दोलनका एक घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । राजधानीको भद्रकालीस्थित सुरक्षा घेरा तोडेर अगाडि बढ्ने क्रममा नेपाल प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको अश्रुग्यासको असरबाट उपचाररत बर्दियास्थित राप्रपाको मधुवन नगरपालिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको आर्मी अस्पताल छाउनीमा मृत्यु भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठन अध्यक्ष पूर्व महासेनानी प्रकाशजंग कार्कीका अनुसार उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

भद्रकालीस्थित निषेधाज्ञा तोड्ने क्रममा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

अध्यक्ष कार्कीका अनुसार उनका छोरा आर्मीमा भएकाले छाउनी अस्पतालमा राखिएको थियो । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले चैत २७ गते काठमाडौँमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको थियो ।

जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि सिंहदरबार अगाडिबाट माइतीघरतर्फ जाने क्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेका थिए । आन्दोलनमा प्रहरीले पानीको फोहरा हानेको थियो । सांसद ज्ञानेन्द्र शाही लगायतका केही आन्दोलनकारी पक्राउसमेत परेका थिए । शान्तिपूर्ण आन्दोलनमा आक्रमण भएको भन्दै राप्रपाले गृहमन्त्रीको सदनबाटै राजीनामा मागेको थियो ।

त्यस क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आफैँ निषेधित क्षेत्रमा प्रवेश गरेका थिए । सहकारी ठगी आरोप लागेका  गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलन दबाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सो क्रममा काठमाडौँका डीएसपी पवन भट्टराई लगायतका प्रहरी घाइते भएका थिए । डीएसपी भट्टराईको हातमा चोट लागेको थियो ।

यसअघि ईपीएस परीक्षा दिएका विद्यार्थीको ग्वार्र्काे आन्दोलनका क्रममा दुई युवाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले राप्रपाको आन्दोलन हुँदा आफैँ गृहमन्त्री छन् । यो घटनापछि उनको नैतिकताले के भन्छ भनी सामाजिक सञ्जालमा यो विषय जोडतोडले उठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ