प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत बैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि  पहिलो पटक २०७९ पुस १० गते, त्यसपछि २०७९ फागुन १५ गते, र तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए ।

निरन्तर विश्वासको मत घट्दै गएको अवस्थामा अहिले पनि मत भने कम आउने आँकलन गरिएको छ । पहिलो पटक विश्वासको मत लिँदा प्रतिपक्ष दललेसमेत मत दिएकामा त्यसपछि मत घट्दै गएको छ । प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ