काठमाडौँ, २२ जेठ

: अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आव २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको बजेटको कार्यदिशा रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको जिकिर गर्नुभयो । “आगामी आवको खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले मात्र बढी हो । चालु आवको तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पुनले संविधान, पन्ध्रौँ आवधिक योजनाको समीक्षा, सोह्रौँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिका समीक्षा र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिएको स्पष्ट पार्नुभयो । उहाँले भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने र तीन तहकै सरकारबाट पुँजीगत खर्चमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । “विगतका वर्षभन्दा आगामी आवमा पुँजीगत खर्चमा भएको बढोत्तरीसँगै स्रोत सुनिश्चित गरिएका आयोजनामा आवश्यक रकम विनियोजन गरिएको छ, सिर्जित दायित्व भुक्तानी र सम्पन्न हुने आयोजनाका लागिसमेत आवश्यक रकम विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो । बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट छ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनाका साथै सोह्रौँ आवधिक योजनाले परिलक्षित गरेका उद्देश्यसमेत क्रमशः पूरा हुने उहाँले विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ