काठमाडौँ, १२ भदौ

: गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिनुभयो ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । “राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्छ,” उहाँले भन्नुभयो, “मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।”

गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताउनुभयो । “भन्सार कार्यालयको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ल्याएर काम गर्न सकिन्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार कार्यालय छैन भनेर नेपालमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न नरोकौँ । छोटी भन्सार कार्यालय हुँदा राजस्वमा वृद्धि हुन्छ,” उहाँले भन्नुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ