साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ । बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
सुरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० को फाइनल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि दैनिक पानी परिरहेकाले फाइनल खेल पनि एन्फा कम्प्लेक्समै खेलाउन लागिएको हो । सिनियरतर्फ नेपालको पुरुष र महिला दुवै टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । यस्तोमा नेपाललाई साफ क्षेत्रमा जुनियर टिमले नै सफलता दिलाउँदै आएका छन् ।
नेपालको सिनियर पुरुष टिम सन् २०२१ मा भएको साफ च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै महिला टोली २०२२मा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसैले नेपालका लागि जुनियर टोलीले यसअघि दिलाएको सफलता दोहोर्याउने अवसर छ । सन् २०१५ मा नेपालबाटै साफ यू–१९ च्याम्पियनसिपको नामबाट सुरु भएको प्रतियोगिता कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट हुँदै आएको छ ।
च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्म दुई पटक उपाधि जितेको छ । सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो ।
यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal