राजविराज २५ असोज





: बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उहाँले बताउनुभयो । “धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भन्नुभयो ।
राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ । यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको मन्दिरको पीठाधीस महानन्द ठाकुरले बताउनुभयो । उहाँकाअनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।
त्यसैगरी यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको छ । विगत दुईवर्षदेखि बडा दसैँको महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको हो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















