आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन बेलुकाबाट यमदीपदान सुरु हुन्छ । यस दिनलाई धन त्रयोदशी वा धनतेरस भनिन्छ । तिहारको पाँच दिन यमराजसँग बढी सम्बन्धित भएको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक भनिएको हो । परिवारमा जति पनि सदस्य छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको ज्योतिषाचार्य एवम् वास्तुविद पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।

धनतेरसमा सुनको विशेष महत्व हुन्छ । सुनलाई समृद्धिको प्रतीक मानिन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ । धनी हो वा गरीब, यस दिन प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार सुन किन्ने गर्छन् । भनिन्छ, यस दिन सुनको खरिद गर्नाले घरमा समृद्धी रहिरहन्छ । त्यसैले राष्ट्र बैंकले पनि धनतेरसलाई लक्षित गरी सुनका असर्फी बिक्री गर्दै आएको छ ।

सुन किन्न नसक्नेले चाँदी र चाँदी पनि किन्न नसक्नेले भाँडावर्तन भए पनि किन्ने गर्दछन् । यस दिन मानिसहरु तामा, पित्तलका भाँडा वा पूजाका थाली किनमेल गर्दछन् । त्यसैले आज बजारमा किनमेल गर्नेहरुको भिडभाड हुने गर्दछ ।

धनतेरसको दिन किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता छ । त्यसैले तिहार सुरु हुनुभन्दा ठीक एक दिन अघि मानिसहरु आफ्नो गच्छेअनुसार केही न केही किन्ने परम्परा छ । अघिल्ला दिनहरुसम्म उधारो कारोबार गर्नेहरु पनि यस दिनदेखि तिहारसम्म नसकिउन्जेलसम्म नगद कारोबार गर्दछन् ।

धनतेरसकै दिनदेखि यमदीपदान सुरु हुने गर्दछ । परिवारमा जतिजना सदस्यहरु छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको ज्योतिषाचार्य एवम् वास्तुविद दुलाल बताउँछन् ।

आजै साँझदेखि झिलीमिली बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सुरु गरिन्छ । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन भने कात्तिक १५ गते परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ