धुलिखेल (काभ्रेपलाञ्चोक), १७ कात्तिकः

तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् ।

काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रुपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ ।

मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशी बजारका भवानी केसीले बताउनुभयो । यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासी गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उहाँले बताउनुभयो ।

घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भन्नुभयो, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”

घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आउनुभएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गर्नुभयो । बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उहाँले बताउनुभयो ।

रोशी बजारका शङ्कर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुङ्गा ओसार्ने काममा व्यस्त छन् । ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उहाँ घर निर्माणमा व्यस्त हुनुभएको हो । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ