गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सानो भर्‍याङको  कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापा बताउँछन् ।

सर्वोच्च अदालतले फैसला सुनाउपछि मनाङेलाई पक्राउ गर्न सीआईबीका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएका थिए । अन्ततः एक हप्ताको रेकीपछि सीआईबीको टोलीले मनाङेलाई बिहान १०: ४० बजे नियन्त्रणमा लिएको थियो ।

एक अधिकृतका अनुसार सीआईबीको टोली पुग्दा मनाङेले कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा बसिरहेका थिए । ‘हामी बेलैमा पुगेछौं । अलिकति ढिलो भएको भए मनाङे पनि भागिसक्ने रहेछन्’, ती अधिकृत भन्छन् । प्रहरी टोली देखेपछि मनाङेले भने ‘किन आएको, म आफैं आइहाल्थे नि !’ भनेका थिए । ‘म आफैं आइहाल्थे । आउँछु भनेर विज्ञप्तीमार्फत जानकारी पनि गराएकै थिएँ’ मनाङेलाई उद्धृत गर्दै एक अधिकृतले अनलाइनखबरसँग भने ।

दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ