घरजग्गा कारोबार र निर्माण क्षेत्रमा आएको मन्दीले सिमेन्ट उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । सरकारले निर्माण व्यवसायीका अघिल्ला वर्षहरूमा गरेको कामको अर्बौं भुक्तानी गर्न सकेको छैन । यो वर्ष पनि सरकारको विकास निर्माणको काम अत्यन्तै सुस्त छ ।

साथै घरजग्गा कारोबार पनि सुस्त हुँदा त्यसले अधिकांश सिमेन्ट उद्योगहरू संकटमा छन् । एक उद्योगीका अनुसार नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटा जतिले कि उत्पादन रोकेका छन्, कि ८/१० प्रतिशत क्षमतामा चलाइरहेका छन् । बाँकी १५ वटाले पनि ५० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छन् ।

२०७२ सालको भूकम्पपछि धेरै सिमेन्ट उद्योगहरु थपिए पनि पूर्वाधारका काम अति सुस्त भए । ठेक्का लागिसकेका आयोजनाका काम रोकिएका छन् । निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । भुक्तानी नपाएपछि निर्माण व्यवसायीको मनोबल समेत घटेको छ । यसले गर्दा पूर्वाधार निर्माणका क्षेत्रले गति लिन सकेको छैन । यहीं कारण सिमेन्ट लगायत निर्माण सामग्रीको बिक्री घटेको छ ।

निर्माण क्षेत्रको मन्दीका कारण क्षमताभन्दा निकै न्यून उत्पादन भइरहेको उद्योगी बताउँछन् । ‘सरकारले छुट्याएको पूँजीगत खर्च नै हुन नसक्नुले पूर्वाधार क्षेत्र मन्दीमा रहेको देखिन्छ’ सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले भने ‘त्यसबाहेक निजी आवास तथा व्यवासायिक भवनको निर्माण अति सुस्त छ ।’

असोजको दोस्रो साता आएको बाढी र त्यसपछि विभिन्न राजमार्गको क्षतिले ढुवानीमा केही साता अवरोध हुँदा पनि यो पटक आम्दानीलाई थप असर पारेको न्यौपानेले बताए । असोज महिनाभरको बिक्री आम्दानी धेरै नै घटेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ