काठमाडौँ, ४ माघः

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो । प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहनुभएको समिति गठन गरिएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीव श्रेष्ठ रहनुभएको छ । समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ । सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित सङ्कायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ ।

यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गर्नुुभएको थियो ।

विसं. २०५९ चैत १९ गतेको पारस्परिक सम्झौताका आधारमा सहकार्य गरेका ती संस्थाबीच बेमेल भएपछि गत साउन ३० गतेको विश्वविद्यालय सभाको ९७ औँ बैठकको मार्गदर्शनअनुसार आपसी संवाद थाल्ने निधो भएको थियो ।

प्रधानमन्त्री ओलीले विवाद मिलाउन गठित समितिले सघन परामर्शसमेत गरेर समाधान निकाल्न सकेकामा खुसी व्यक्त गर्दै त्यसले नयाँ क्षितिज उघारेको बताउनुभयो । यस प्रतिवेदनले नयाँ एकतासहित भविष्यको नयाँ गोरेटो तय गरेको छ, यसलाई नबिगारीकन कार्यान्वयनमा लान सकेमा राम्रो प्रतिफल आउने उहाँले बताउनुभयो ।

सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा डा राजीव श्रेष्ठ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ