धनुषा, २९ फागुनः





वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ । मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साह बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।’
मिथिलानगरपालिका–२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतो पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत (जोगिरा) गाउन नपाएकामा दुःखी मनले भन्नुभयो, ‘पहिले यस्ता जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला)
मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होलीगीत शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा परिक्रमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ । पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजाभएकाले आफूलाई देवताभन्दा ठूलो हुँभन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने र भोली पल्ट होली खेल्ने चलन रहि आएको भनाइ छ ।
जनकपुरधाम–१२ का सतीशलाल कर्ण भन्नुहुन्छ, ‘होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत बिरलै सुन्न पाइन्छ ।’ दोहोरी गीत झैं गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर अहिले ती गीत भने लोप हुने अवस्थामा पुगेका छन् । नवयौवना मात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक हुन्न ।
क्षीरेश्वरनाथ ७ हरिहरपुरका रामलाल महतोले भन्नुभयो, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, मौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।’
पहिलेपहिले बुढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका ७० वर्षीय सत्यनाराण सिंह बताउनुहुन्छ । अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्नुहुन्छ, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















