सोलुखुम्बु, १ चैतः

हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो ।

कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ