काठमाडौँ, २ चैतः

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उहाँले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पार्नुभयो । “नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।”

नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रुपमा स्थापित हुनसक्ने औँल्याउँदै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताउनुभयो । “हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ”, उहाँले भन्नुभयो, “दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ ।”

सभामुख घिमिरेले ‘एक चीन सिद्धान्त’लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रति नेपालको प्रतिबद्धता बलियो रहिआएको स्पष्ट पार्नुभयो । चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताउनुभयो । बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गर्नुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ