भोजपुर, ७ चैतः

जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।

कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताउनुभयो । किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उहाँले उल्लेख गर्नुभयो ।

अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिनुभयो । यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उहाँले बताउनुभयो ।

महासचिव चिमोरियाले भन्नुभयो, “विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ ।” व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उहाँले जानकारी दिनुभयो ।

स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उहाँको भनाइ छ ।

“किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ”, उहाँले भन्नुभयो, “किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ ।”

अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताउनुभयो । “अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ । समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ