जलेश्वर (महोत्तरी), १० कात्तिकः
वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का इन्दल डोम आज आफ्नै घरअगाडि मुसुमुसु हाँस्दै बाँस र बेतका भाँडाकुँडा बेच्न व्यस्त हुनुहुन्छ । उहाँले डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरु चुक्ता गरी एक÷दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउनुहुन्छ । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिलाहरु पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकँुडा बेच्दै गरेको देख्न सकिन्छ ।




गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षैभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीका महान् पर्व छठ व्रतमा बाँस र बेतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी तुल्याएको छ । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका मनरासिस्वा नगरपालिकाका ६० वर्षीय हरिदेव डोमले बताउनुभयो ।
डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँसु लिएर भन्नुभयो, “कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छाँै ।” तर वर्षभरि उनीहरुको काम नचल्न हुनाले फेरि केही दिनपछि दुःख थपिने चिन्ताले भने उहाँलाई सताएको छ ।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडाहरु किन्नुपर्दछ । छठ पर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरु सोही कारण एक महिनादेखि दिनरात व्रतालुहरुको निम्ति बाँसका भाँडाहरु बनाउने गरेको सुनाउनुभयो ।
त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका बिरजु डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति रु ५०÷६० देखि रु ७०÷८० हजार र प्रत्येक परिवारले रु दुई÷तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । एक महिनादेखि जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको थियो भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिएका थिए भने आज सबै बेचेर मनग्यै आम्दानी गर्न सफल भएका छन् ।
पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडाहरु निर्यात हुने हुँदा डोम समुदायले कात्तिकको महिनाभरि काम र दाम दुवै पाएर निकै खुसी देखिएका छन् ।
डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकुँडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका महेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेतका भाँडाकुँडा बनाउने गरेको बताउनुभयो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व डोम जातिका लागि प्रत्येक वर्ष खुसी र उत्साह ल्याउनाका साथै आर्थिक आम्दानी गर्ने प्रमुख चाड बनेर आउने गरेको पिपरा गाउँपालिकाका सुरेश डोमले बताउनुभयो ।
अत्यन्त कठिन रहेको यस पर्व चार दिनसम्म मनाइने गरिन्छ । यस पर्वको पहिलो दिन व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । दोस्रो दिन खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर सबै अघ्य सामग्री (प्रसाद) पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्य अर्पण गर्दछन् । त्यसको भोलिपल्ट अर्थात् पारणका दिन एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्दछन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















