काठमाडौँ, २२ मङ्सिर
: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनुभएको छ । काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिनुभयो ।


प्रधानन्यायाधीश भन्नुभयो, “न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।” उहाँले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध पनि गर्नुभयो ।
प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।”
महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उहाँले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गर्नुभएका डा भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन सकिएन भने गरिमामाथि आँच आउने बताउनुभयो । उहाँले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औँल्याउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














